काठमाडौं, वैशाख १२ ।
सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा। खगराज अधिकारीले जानकारी दिए ।
कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।
हिजो बसेको सीसीएमसीका बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिश गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिश गरिएको एक अधिकारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिश गरेको छ । ट्रान्जिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न सिफारिश भएको छ ।