भोलिबाट एसईई परिक्षा शुरू, जापानबाट १९ बिध्यार्थी परिक्षामा सहभागी हुँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  452 पटक हेरिएको

काठमाडौं, वैशाख ८ ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।

एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

जापानबाट पनि एसईई दिँदै

जापानमा सञ्चालित विद्यालयमा पनि शुक्रबार नै एसईई सुरु हुँदैछ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन लागेको हो ।

परीक्षाको लागि प्रश्नपत्र अनलाइनमार्फत परीक्षा सञ्चालन हुन आधा घन्टा अघि पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । यस विद्यालयमा एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनलाई नै बोर्डले प्रमाणीकरण गरेको थियो ।

यो वर्ष भने जापानबाट १९ जना विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउनेछन् । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार