आज कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमाले बिपक्षमा मतदान गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  946 पटक हेरिएको

काठमाडौं, वैशाख ३ ।  

कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका छ । गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नै मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै आजका लागि विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन भनेका थिए । आजको बैठकमा विश्वासको मत लिने कार्यतालिका तय भएपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत दिन अपिल नै गरेको छ । माओवादीकी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिने छन् । उता नेकपा एमालेको संसदिय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने जनाइएको छ । काग्रेस संसदिय दलको बैठक भने बिना निष्कर्ष सकिएको छ । कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्न नसकेको बैठकमा सहभागी एक सांसदले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार