लण्डन, बैशाख ३ ।
कोरोना भाइरसको संक्रमणबाट साउथ इष्ट लण्डनको प्लमस्टिडनजिक ‘वीकह्यम लेन’ मा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको छ । लण्डनको ‘गाइज अस्पताल’मा उपचारकै क्रममा बुधबार बिहान श्रेष्ठको निधन भएको परिवारले बताएको छ । नेपालमा स्याङ्जा पुख्र्यौली घर भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा थियो । उनी सन् २०१० देखि परिवारसहित बेलायत बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् । जसमध्ये दुई छोरीको विवाह समेत भइसकेको जनाएको छ ।
लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत श्रेष्ठ मार्चका २३ तारिखसम्म पनि काममा गइरहेका थिए । ‘त्यसपछि बिस्तारै बुवालाई रुघाखोकीले समाएको थियो । ज्वरो भने थिएन । बुवाले पनि खासै केहि भएको छैन भन्नुहुन्थ्यो । हामीले पनि सामान्य नै होला भन्ने सोंचेका थियौं’, मृतक श्रेष्ठकी छोरी रेजिना श्रेष्ठले संचारमाध्यमसंग भनिन्, ‘पछि दुई दिन पखाला भयो । खोकी पनि अलिक बढ्दै गयो । अनि हामीले अस्पतालमा सम्पर्क गरेका थियौं ।’
अस्पतालको सल्लाहमा अक्सिजनको मात्रा जाँच गर्दा निकै न्यून देखिएपछि गत मार्च ३१ तारिखका दिन दिउँसो ४ बजे परिवारले अस्पताललाई दोस्रोपटक सम्पर्क गरेको थियो । ‘४ बजे फोन गरेको, राती साढे १० बजे मात्रै एम्बुलेन्स आयो । निकै व्यस्त छौं, ४ सय जना लाइनमा छ भन्थे’, छोरी रेजिनाले सुनाइन्, ‘एम्बुलेन्समा आएको प्यारामेडिक टीमले अस्पताल जानुपर्छ भन्यो । बुवा पनि खासै केहि नभएजस्तै आफै हिंडेर एम्बुलेन्ससम्म जानुभयो ।’
मार्च ३१ को राती साउथ इष्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल भर्ना भएका श्रेष्ठलाई भोलिपल्टबाटै ‘भेन्टिलेटर’मा राखिएको थियो । दुई दिनपछि ‘फिक्स भेन्टिलेटर’मा राख्नुपर्ने भएको भन्दै लण्डनको ‘गाइज अस्पताल’मा सारिएको जानकारी परिवारलाई गराइएको थियो । कोरोनाको संक्रमण पुष्टी भएकोबारे पनि अस्पताल भर्ना भएको ४ दिनपछि परिवारले जानकारी पाएको थियो ।
‘हरेक दिन अस्पतालले हामीलाई सुधार हुंदैछ भनेर अपडेट गराउँथ्यो । हामी भिडियो कल नै गरेर उनीहरुसंग कुरा गथ्र्यौं । वुबालाई ठीक हुंदैछ र छिट्टै निको भएर फर्किनुहुन्छ भन्ने आशामै थियौं’, छोरी रेजिनाले भनिन्, ‘सोमबार नेपाली नयाँ वर्षकै दिन फेरि उनीहरुले फोन गरेर एक्कासी कुनै प्रोगेस भएन भने । जति अक्सिजन दिंदा पनि रेस्पोन्स भएन, अब भेन्टिलेटरबाट निकाल्नुपर्छ भने ।’
सुधार हुँदैछ भनेर आशावादी बन्दै गएको परिवारलाई अब उपाय बाँकी रहेन भन्ने वास्तविकता स्वीकार्न निकै गाह्रो थियो । आफन्तले नेपालमा ज्योतिषलाई हेराउँदा श्रेष्ठलाई मंगलबारसम्मको ‘खट्को’ रहेको बताए । दुई दिन थप बचाउन सकियो भने उपाय लागिहाल्छ कि भन्ने झिनो आशा परिवारलाई पलायो ।
अन्तिम अवस्था पुगिसकेका श्रेष्ठसंग परिवारको १ जनालाई भेट्न दिने भनेको थियो अस्पतालले । श्रीमतीलाई साहस आएन । सोमबार साँझ आफै नर्स रहेकी कान्छी छोरी गइन् । ‘भेन्टिलेटर’मा रहेका बुवाको फोटो, भिडियो खिचेर ल्याइन् र परिवारका अन्य सदस्यलाई देखाय छोरी रेजीनाले संचार माध्यमलाई बताईन । यो संगै लण्डन कोरोना भाईरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक दर्जनको हाराहारीमा पुगेको छ ।