अमेरिका, बैशाख ३ ।
अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओ लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाउदै आएको छ । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताएका छन ।
डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।
अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ ।