श्रीलंका पुलिसमाथि ५–१ गोल अन्तरले त्रिभुवन आर्मीको शानदार जित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  77 पटक हेरिएको

काठमाडौं, चैत २५ ।

श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरे ।

आर्मी गोल गर्न चुकिरहेका बेला श्रीलंकन टोलीले २८औं मिनेटमा खाता खोल्यो । घानाका खेलाडी इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिसलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा आर्मीले बराबरी गर्ने मौका गुमायो । नवयुग श्रेष्ठको क्रसमा कप्तान भरतले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । ३९औं मिनेटमा टंकको क्रसमा कप्तान भरतको फ्रि हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

तर ४१औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बलमा सन्तोषले २५ यार्डबाट हाफ भलिमा शानदार गोल गरे । त्यसको दुई मिनेटपछि नै आर्मीले अर्को गोल गर्‍यो । कप्तान भरतको पासमा नवयुग श्रेष्ठले हेडर गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि आर्मीले दबाब कायमै राख्यो । ५०औं मिनेटमा श्रीलंकन पुलिसका गोलकिपरको गल्तीमा टंकबहादुर बस्नेतले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए । ७६औं मिनेटमा इभान्सको प्रहार क्रस बारमा लागेर फर्किंदा श्रीलंका पुलिस चुकचुकायो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुदिल राईले ८३ औं मिनेटमा गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए । उनी ६३औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्जुरी टाइममा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–१ गोल अन्तरको शानदार जित निकाल्यो । जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार