काठमाडौं, चैत २२ ।
कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।
एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए । नयाँ निर्णयअनुसार तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद (१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ) छन् ।
सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।