काठमाडौं, चैत १९ ।
पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । पेट्रोलियम ब्यबसायी र नेपाल आयल निगम बिच सहमति भएको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले सामाजिक संचाल फेसबुकमा दुई पक्षबिच सहमति रहेको र ब्यबसायीहरुको माग प्रति निगम कटिबद्ध रहेको र आगमी दिनमा उपभोक्तामा कुनै पनि असर नपर्ने जानकारी गराउनु भएको थियो ।
ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।