एजेन्सी, चैत्र १५ ।
म्यानमारमा सैनिक “कु” गरेपश्चात दिनानुदिन हिंसात्मक प्रदर्शन हुन थालेको छ । म्यानमारमा आङ्गसाकी सुकिको समर्थनमा हजारौँ प्रदर्शनकारीहरु सडकमा उत्रिएको छ भने सुरक्षाकर्मी तथा सेनाले अधिक मात्रामा बल प्रयोग गर्दा मानबीय क्षति धेरै भएको अनुमान गरिएको छ । म्यानमारमा पछिल्लो दिन सुरक्षाकर्मी र प्रदर्शनकारीबीच शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुका साथै बीबीसीले जनाएको छ।
त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका थिए। सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
सुरक्षाकर्मीको गोली लागेर शनिबार माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् । थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् । म्यानमारमा भएको सैनिक कु अन्तराष्ट्रिय समुदायद्धारा बिरोध भईरहेको छ ।