विराटनगर, चैत १२ ।
चीनको बुहानबाट फैलिएको नोबेल कोरोना भाईरस नियन्त्रण गर्न केन्द्र सरकारले ५ करोडको आपतकालिन राहत कोष खडा गरि सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । त्यस्तै हाल बिभिन्न प्रदेश आफ्नो प्रदेशमा कोरोना भाईरस नियन्त्रणको लागि कोष खडा गरिरहेको छ । १ नम्बर प्रदेशले पनि आपतकालिन कोष खडा गरिएको छ । उक्त कोषमा एक नम्बर प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र उपचार प्रदेश कोषलाई एक महिनाको तलब प्रदान गरेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
त्यसैगरी समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादलवले पनि एक महिनाको तलव कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।
प्रदेश सरकारले मंगलबार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र उपचार प्रदेश कोष स्थापना गरेको थियो । मन्त्रिपरिषद बैठकले ्कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको थियो । कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय समेत गरेको छ ।