कोभिड–१९ परीक्षणको दायरा बढायो, ६० वर्षभन्दा माथिका सबैको नमुना जाँच

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  853 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत १२ ।

सरकारले कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन परीक्षणको दायरा बढाएको छ । यस अघि विदेशबाट आएका, तिनका परिवार वा नजिकका व्यक्तिको मात्र परीक्षण गर्ने गरिएकोमा अब सरकारले कोरोना लक्षणसँग मिल्दो समस्या रहेका ६० वर्षभन्दा माथिका सबैको नमुना जाँच थालेको छ ।


६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दीर्घरोगी र सघन उपचार कक्षमा रहेकाको समेत कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता देवकोटाले अन्य अस्पतालमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नुपर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको जानकारी पनि दिए ।

संक्रमित युवती र कोरोना आशंका गरिएका अन्य १५ जना अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको उनले बताए । तीमध्ये १० जना क्वारेन्टाइनमा र ५ बिरामी आइसोलेसनमा छन् । यसैबीच कोरोना भाइरस पोजेटिभ देखिएकी युवती चढेको जहाजमा रहेका सबै व्यक्ति पहिचान भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सबाट आएकी ती युवतीसँगै यात्रा गरेका व्यक्तिको खोजी गरी पहिचान गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताएका छन् । संक्रमित युवतीसँग घरमा रहँदा सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा पठाइसकेको उनले जानकारी दिए ।

त्यस्तै अहिलेसम्म ६० वटा स्वाब परीक्षण गरिएकामा दुई जना बाहेक अन्यमा कोरोना संक्रमण नभएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार