काठमाडौं, चैत्र १०।
अफलाइन ट्रिप गरेको तथा कम्पनीको प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजर) का कारण असुरक्षा बढेको भन्दै पठाओ राइडरलाई प्रोटेक्टिभ गेयर लगाउन प्रतिबन्ध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको हो ।
सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् । आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले बताएको छ ।
सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले बताए । ‘यात्रु कुरेर बसेका पठाओ राइडरलाई शुरुमा ट्याक्सी चालकले लखेटे, उनीहरुले केहीबेर नाराजुलुस पनि गरे, त्यसपछि बाटोमा हिंडिरहेका पठाओ राइडरलाई कुटपिट गरे’, सिंखडाले भने ।
महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले पठाओ संचालनमा रोक लगाउने विषयमा भने कुनै सत्यता नरहेको बताए। पठाओ नेपालले पनि एक विज्ञप्ति जारी गर्दै राइडर र यात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समन्वयमा यस्तो निर्णय गरेको जनाएको छ ।
पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले पठाओको लोगो वा ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गरेका छन्। उनले सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेबार नहुने बताएका छन्।