काठमाडौं, चैत ५ ।
नेकपा एमालेको आन्तरिक बिबाद उत्कर्षमा पुगेको छ । नेकपा कायम रहदादेखि देखा परेको नेकपा शक्ति संघर्ष माओबादी र एमाले विभाजन हुदा समेत एथावत रहेको छ । नेकपा एमाले, संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । गुटको भेलामा गए स्पष्टीकरण सोध्ने र कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने बैठकको निर्णय छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित थिए । बैठकमा भाग लिन भन्दै हिडेका सांसदहरुलाई समेत नेताहरुले राष्ट्रिय कार्यकर्ता भेला स्थलमा फिर्ता बोलाएका थिए ।
संसदीय दलको बैठकले गुटभेलामा जानेहरुलाई आत्मलोचना सहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आहृवान गरिएको छ । तर दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टीकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले भने ।
बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
कोको छन् बोर्डमा ?
दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्डको पदेन सदस्यमा उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी छन् ।
सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।
यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य छन् ।
यस्तै विधान संशोधनका लागि विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेको कार्यदल बनेको छ ।