अमेरिका, चैत ४ ।
कोरोना भाइरसवाट प्रभावित अमेरिकी जनतालाई राहत दिन ट्रम्प प्रशासनले दुइ हप्ताभित्रै घरघरमा चेक पठाउने भएको छ । परिवार वा व्यक्ति केलाई आधार मानेर चेक पठाइन्छ भन्ने अझै प्रष्ट नपारिएपनि ट्रेजेरी सेक्रेटरी स्टेभेन म्नुचिनले राहत स्वरुप चेक पठाइन लागेको पुष्टि गरेकाछन् । कोरोना भाइरसको कारण व्यापक आर्थिक मन्दी आएको कारण सरकारले राहत दिन लागेको हो ।
यो राहत रकम राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्नका लागि वनाएको ८५० विलियन डलरको कोषवाट हुनेछ । सोही कोषवाट आर्थिक क्षति व्योहोरिरहेका हवाइ कम्पनी र व्यापारीहरुलाई पनि आर्थिक राहत दिइने भएको छ । ह्वाइट हाउसले करदाताहरुलाई तत्कालका लागि राहतस्वरुप तत्काल कर तिर्नुनपर्ने गरी कानुनी प्रक्रिया मिलाउंदै छ ।
राष्ट्रपति ट्रम्पले सुरुमा कामदारहरुले पाउने पे चेकमा कर नलाग्ने व्यवस्था गर्न खोजिरहेका थिए तर कतिपय कामदारहरुले ढिलामात्रै पे चेक पाउने भएकोले तत्कालका लागि यो राहत रकम पठाउन लागिएको जानकारी गराएका छन् ।