प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  361 पटक हेरिएको

काठमाडौं, फागुन ३०, ।  

१० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरी १५७ सांसदले मत दिए ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका ११० सांसदले विपक्षमा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसेका छन् ।

पहिलो पटक २६ पुस २०७९ मा विश्वासको मत लिँदा प्रचण्डले प्रतिनिधिसभामा लगभग प्रतिनिधि सभाका सम्पूर्ण मत पाएका थिए । त्यसबेला सत्ता गठबन्धनमा नरहेका कांग्रेस, एकीकृत समाजवादी र लोसपाले समेत मत दिएकाले २७५ मध्ये २६८ सांसद प्रधानमन्त्री प्रचण्डको पक्षमा उभिएका थिए ।

तर १० पुसको गठबन्धन तोडेर प्रचण्डले कांग्रेसतिरै जाने निर्णय गरेकाले दुई महिनाभित्रै दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो ।

दोस्रोपटक ६ चैत २०७९ मा विश्वासको मत लिँदा एमाले र राप्रपाले विपक्षमा मतदान गरेकाले प्रचण्डले १७२ मत मात्रै पाए भने विपक्षमा ८९ मत परेको थियो । १० पुसमा एमालेसँग गठबन्धन बनाउँदा प्रचण्डले प्रतिनिधिसभाको ५ वर्षको कार्यकालमध्ये आधा अर्थात साढे दुई वर्ष प्रधानमन्त्री हुने सम्झौता गरेका थिए ।

एमालेसँग गठबन्धन तोड्दा प्रचण्डले आफू प्रधानमन्त्री हुने अवधि घटाएर दुई वर्षमा झारेका थिए । तर त्यो दुई वर्ष नपुग्दै गत २१ फागुनमा फेरि एमाले, रास्वपा सहितको गठबन्धन बनाउने निर्णयमा पुगे ।

प्रचण्डले नयाँ समीकरण बनाएसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि उनी तेस्रोपटक विश्वासको मत लिने अवस्था सिर्जना भयो । तेस्रोपटक विश्वासको मत माग्न प्रतिनिधिसभामा उपस्थित हुँदा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्ने निर्णय कुनै आवेग र कसैलाई सरप्राइज दिन नगरिएको तर्क समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार