समानान्तर कमिटीसंगै खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  355 पटक हेरिएको

काठमाडौं, फागुन २९ ।   

नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।

अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको यो समूहको दाबी छ । उपाध्यक्ष भीम रावलले भने, ‘केपी शर्मा ओलीजीले बालुवाटारमा जुन किसिमले कथित बैठक गर्नुभयो र एमालेको विधान, नियमावली र कार्यशैली विपरित जसरी काम गर्नुभयो । त्यो आपत्तिजनक छ, अवैध छ ।’

सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको उनले बताए ।  केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ ।

बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार