काठमाडौं, फागुन २५ ।
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।
सर्वोच्चको फैसलाबारे छलफल गर्न बसेको आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको सूचना ती दललाई दिने निर्णय गरेको छ ।