काठमाडौँ, फागुन २१ ।नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुन संसदीय दलको नेता चयन गरेको छ । शुक्रबार पार्टीका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो । बैठकअघि प्रचण्ड–नेपाल समूहले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो ।
आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको सांसद् सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्वपूर्ण रहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसद रहेका छन् । उता, केपी ओली समूहले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । तर सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिए पछि बदलिँदो अवस्थामा प्रक्रियागत रुपमा फेरि संसदीय दलको नेता चयन गरेको हो ।