सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको उर्वर भूमि रहेको राष्ट्रपति भण्डारीको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1238 पटक हेरिएको

कैलाली अत्तरीया, फागुन १४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताएकी छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्दै उनले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताइन् ।

नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने एक माध्यम भएको बताइन् । उनले मानवजातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम भएको बताइन् । साहित्य समसामयिक समाजको ऐना भएको बताउँदै उनले साहित्य र समाजबीचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको बताइन् । साहित्यले समाजका विकृति एवं विसङ्गतिलाई औँल्याउँदै सदाचार र नैतिकतालाई प्रवर्द्धन गर्ने भएकाले असल साहित्य सृजनामा साहित्यकार क्रियाशिल हुनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योग्दान पुर्‍याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न सफलता हासिल गर्ने आफूले विश्वास लिएको उनले उल्लेख गरिन्। शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने भएकाले यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने महसुस उनले गरि ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीलाई समेत कार्यक्रममा नागरिक अभिनन्दन गरिएको थियो । सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधबारबाट सुरु भएको महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुने छ । विश्व साहित्य महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयमा सत्रहरू रहेका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतका नेताहरू राजनीति, विकासलगायत विषयका वक्ताका रूपमा रहेका छन् ।

सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, प्रा.डा. बासुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिल काव्य सभामा वक्ता रहने आयोजकले जनाएको छ । चाम्लिङले स्वाभिमानी जातिका स्वाभिमानी पाइला विषयको बहसमा भाग लिनेछन् ।महोत्सवमा स्वदेश तथा विदेशमा रहेका २०० भन्दा बढी नेपाली भाषी लेखक, कवि र साहित्यकारको सहभागिता रहेको आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार