नयाँ दिल्ली, फागुन १४ ।
नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा परी मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुगेको हो ।
समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै बुधबार बिहान उपचाररत पाँच जना घाइतेको मृत्यु भएको जनाएको छ । योसँगै हिंसामा परी मृत्यु हुनेको संख्या १८ पुगेको हो । उत्तर–पूर्वी दिल्लीको जाफराबाद, मौजपुरलगायतका क्षेत्रमा जारी हिंसामा झण्डै अढाई सय मानिसहरु घाइते भएका छन् । जसमध्ये ६७ सुरक्षाकर्मी पनि रहेका छन् ।
हिंसाका कारण उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली सरकारले आन्तरिक परीक्षाहरु स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै सरकारले सीबीएसईको बोर्ड परीक्षा पनि स्थगित गरेको छ ।
नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।