पोखरा बिमानस्थल नजिकै रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  483 पटक हेरिएको

काठमाडौं, फागुन १३ ।  

संसदीय समितिले पोखरा विमानस्थल नजिकमा रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबार बसेको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएकी छिन् । उनले भनिन्, “आजको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो ।”

समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिले विमानस्थल निर्माणका बाँकी सबै काम समयमै सम्पन्न हुने अपेक्षासमेत गरेको छ । सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार