एजेन्सी, फागुन १२, ।
रूस र यूक्रेन बिचको बिबाद युद्दमा परिणत भएको छ । रुसी राष्ट्रपति पूटिनले आक्रमणको घोषणा गरेसंगै रूसका सेनाले सीमा क्रसगरी युक्रेन माथि आक्रमण गरेको हो । युक्रेनमा रुसले गरेको गोलाबारीमा परी कम्तिमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कयौ हताहती भएको खबर छ । प्रारम्भिम विवरण अनुसार हालसम्म युक्रेनमा रुसी गोलाबारीबाट कम्तिमा आठ जनाको मृत्यु भएको रोइटर्स समाचार माध्यमले जनाएको हो । युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले आठ जनाको ज्यान गएको र ९ जना घाइते भएको बताएका हुन् ।
बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेलगत्तै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौज प्रवेश गरिसकेका छन् । बेलारुसको सीमाबाट समेत रुसी फौज प्रवेश गर्न थालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशलगत्तै युक्रेनका कैयौं सहरमा बम, क्षेप्यास्त्र र गोलाबारी सुरु भएको छ । युक्रेनको राजधानी किएभसहित प्रमुख सहरमा रकेट आक्रमण भएको छ । रुसी फौजले ओडेसास्थित युक्रेनी जल सेनाका टुकडीमाथि बम खसालेको छ । खार्किभ र मारिउपोललगायत सहरमा ठूलो संख्यामा रुसी सेना प्रवेश गरिसकेका छन् । रुसी सेनाले युक्रेनी वायु सेनाका पूर्वाधार ध्वस्त पारेको बताइसकेको छ ।
उता युक्रेनले भने रूसको ५ वटा बिमान खसालेको दाबी गरेको छ । रिपोर्ट अनुसार सीमावर्ती क्षेत्रका केही स्थान र सुरक्षा चौकी रुसी फौजले कब्जा गरिसकेको छ । त्यस्तै, सैयौं मानिसको हताहती भएको हुन सक्ने भन्दै बेलायती समाचार माध्यमले समाचार लेखेका छन् । रुसले सैनिक ठेगाना र महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाएपछि मानवीय क्षतिको आशंका गरिएको हो ।
युक्रेन छाड़न परराष्ट्र मन्त्रालयको निर्देशन
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।