

जापान, फागुन ११ ।

जापानको योकोहामा स्थित डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या चार पुगेको छ । उक्त जहाजमा आएका र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका दुई अन्य वृद्धको बिहीबार मृत्यु भएको थियो ।
पानी जहाजमा जापानी सहर योकोहामा पुगेका ८० वसन्त पार गरेका एक जापानीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जापानी स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । उनी कोरोना भाइरसको संक्रमणभन्दा पहिले अन्य रोगबाट समेत विरामी रहेका बताइएको छ । ती वयोवृद्ध व्यक्तिलाई संक्रमणको पुष्टिपछि स्थानीय एक अस्पतालमा छुट्टै राखी उपचार भइरहेको थियो ।

मन्त्रालयले ती तीनै जनाको मृत्युको कारण निमोनिया भएको बताएको छ तर ती तीनै जनामा कोरोना भाइरसको संक्रमण भने यस अघि नै पुष्टि भैसकेको थियो । डायमण्ड प्रिन्सेसमा आएका ती यात्रुमध्ये ६०० जनाभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको र दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । एशियाली उक्त मुलुकमा कूल ८०० ब्यक्तिभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म टोक्यो, योकोहामा, चिबा, फुकुओका र ओकिनावामा नोबेल कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । ओकिनावामा एक जना ट्याक्सी चालकमा कोरोना भाईरस रहेको ओकीनावा स्थित स्थानीय अनलाईन पत्रिकाले जनाएको छ भने फुकुओकामा पनि २ जनामा नोबेल कोरोना भाईरस भेटिएको फुकुओका केनले जनाएको छ । फुकुओकामा दुबै जना ६० बर्ष कटेका वृद्धामा कोरोना संक्रमण भेटिएको जनाएको छ । हालसम्म योकोहामा स्थित डायमंड प्रिंसेस पानी जहाजमा क्वारेन्टायनमा रहेका व्यक्तिहरूमा कोरोना संक्रमण झन व्यापक रूपमा पाईएको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

