सर्वोच्चले कुनै पनि बेला संसद पुनःस्थापनाको निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  374 पटक हेरिएको

काठमाडौं, फागुन ११ ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले अब कुनैपनि बेलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको असंबैधानिक कदमलाई सच्चाउने निर्णय गरी संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि बेला संविधान मिच्ने र असंवैधानिक कदम सच्चिन्छ। संविधान नै कुल्चियो र संविधानमाथि नै प्रहार भएको छ। त्यसलाई सच्चाएर निर्णय आउछ।’ प्रचण्डले संसद पुनःस्थापना भएपछि समाजवादको लक्ष्यमा पुग्ने यात्रामा लाग्ने प्रतिबद्धता समेत जाहेर गरे।

‘सरकारको कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनमा छौँ। सबैको साथको कारणले जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका थियौँ’ उनले भने, ‘महान् सहिद बलिदानको योगदानबाट प्राप्त उपलब्धिलाई अपहरण गर्न खोजिएको छ। त्यसैले यो लडाई जित्नुपर्छ। मलाई लाग्छ हामीले यो लडाई जित्छौँ।’

संसद पुनःस्थापनापछि आवश्यकता अनुसार संशोधन गरेर संविधान अघि बढाउने उनले बताए। ‘म प्रधानमन्त्री भएको बेलामा दुई पटक सदनमा दर्ता गराएको थिए’ उनले भने, जनताको आवश्यकता अनुसार संविधान संशोधन जान सकिन्छ।’ पहिले पनि धेरै संविधान बनेको भएपनि पहिलो पटक सार्वभौम नेपाली जनताले अधिकार स्थापित भएको उनले बताए। ‘ओली सरकारले असंवैधानिक कदमविरुद्ध सबै एकजुट भएर लागिरहेको छन्। मलाई विश्वास छ भोलि पर्सी सम्ममा यो कदम अदालतले सच्चाउने छ’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार