अस्ट्रेलिया, फागुन ११ ।
चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसको कारण बिश्व भर २३ सय बढ़ी मानिसहरुको ज्यान गईसकेको छ । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसविरुद्ध अस्ट्रेलियाका वैज्ञानिकहरुले भ्याक्सिनको विकास गरेका छन् । उनीहरुले उक्त भ्याक्सिनको यसै साता जनावरमा परीक्षण गर्ने तयारी गरिरहेका छन् ।
युनिभर्सिटी अफ क्विन्सल्यान्डले दिएको जानकारी अनुसार त्यहाँका वैज्ञानिकहरुले उक्त भ्याक्सिनको विकास गर्न ६ साता लगाएका थिए । उक्त विश्वविद्यालयले परीक्षण सफल भएमा विज्ञानको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेको छ ।
अनुसन्धान टोलीमा २० जना वैज्ञानिकहरु सहभागी थिए । उनीहरुले अहोरात्र खटेर भ्याक्सिनको विकास गरेको अनुसन्धानमा संलग्न मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले बताए । योङ्गले भने, ‘मुख्य काम नै जनावरमा परिक्षण गर्नुभन्दा पहिले भ्याक्सिनको निर्माण गर्नु थियो र यसै साता यस भ्याक्सिनको परीक्षण जनावरमा गरिनेछ ।’
आफ्नो टोलीले विकास गरेको भ्याक्सिन विश्वकै पहिलो भएको र यसले कोरोनाविरुद्ध काम गरेमा अभूतपूर्व सफलता हुने योङ्गले सञ्चारमाध्यमलाई जानकारी दिए । वैज्ञानिकहरुले भाइरस संक्रमित व्यक्तिबाट नमूना संकलन गरेर करिब एक महिनाअघि कृत्रिम भाइरस सिर्जना गरेका हुन् । उनीहरुले सुरुमा जनावरमा ‘प्रि क्लिनिकल ट्रायल’ गरेपछि यसै वर्ष मानिसहरुमा पनि परीक्षण गर्ने लक्ष्य लिएका छन् ।
परीक्षण सफल भए पनि उक्त भ्याक्सिनको पूर्णरुपमा विकास गर्न भने १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुको अनुमान छ । अहिले उक्त औषधिको केही मात्रा उत्पादन सुरु गरिसकिएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।