टोकियो, फागुन ११ ।
जापानमा नेफिन साँस्कृतिक महोत्सव-२०२५ आयोजना हुने भएको छ। नेपाल आदिबासी जनजाती महासंघ(NEFIN) जापानको आयोजनामा आउँदो अप्रिल १९ तारिख शनिबार दिउँसो ४ बजेदेखि टोकियोको मेगुरो कुमिन सेन्टरमा उक्त महोत्सव हुने भएको हो। नेपाली राजदुताबास र एनआरएन जापानको विशेष सहयोगमा हुन गइरहेको नेफिन जापानका महासचिब प्रमिला राईले बताउनु भयो ।
उक्त महोत्सवमा नेफिन जापानका सहयोगी एकल जातीय संस्थाहरु थकाली सेवा समिति जापान, तमु धि जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा जापान, नेवाः खल जापान र थारु कल्याणकारिणी सभा जापान सह-आयोजक रहेका छन्। एनआरएन आइसीसीका उपाध्यक्ष रविन शेरचनको मुख्य प्रायोजन र जापान मनि एक्सप्रेसको प्रायोजन रहने सो कार्यक्रमको इभेन्ट पार्टनर भने हिकारी कम्पनी लिमिटेड रहेको छ।
विभिन्न जनजातिहरुको झाँकी तथा सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रमुख आकर्षण रहने साँस्कृतिक महोत्सव मूल समारोह समितिका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिए। प्रत्येक बर्ष हुने नेफिन सांस्कृतिक साँझ कार्यक्रममा प्रत्येक बर्ष नेपालबाट फरकफरक कलाकारहरुलाई जापान बोलाउने गरिन्छ । यस भन्दा अघि पनि चर्चित गायक राजेशपायल राई, सहिमा श्रेष्ठ, सबिना लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिईसकेका छन । यस पटक भने दुई कलाकारको नाम कार्यसमितिबाट स्वीकृत भएको समेत जानकारी गराउनु भयो । यस पटक पनि जापानको प्रमुख शहरहरुमा क्षेत्रिय कार्यसमितिसँगको समन्वयमा नेफिन साँस्कृतिक साँझ २०२५ आयोजना गर्ने तयारी समेत रहेको अध्यक्ष हवलचन्द्र लामाले जानकारी गराउनु भयो ।