काठमांडौ, फागुन ७ ।
नेकपाको पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर सङ्कलन गरिएको छ ।
बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिए । गएको पुस ५ मा भएको प्रतिनिधि सभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ ।
तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।बैठकपछि प्रवक्ता श्रेष्ठले प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन गर्नु प्रधानमन्त्री ओलीको अराजनीतिक चरित्र भएको समेत टिप्पणी गरे ।सरकारले आज मात्र प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा रौतहट निवासी राजेश झालाई नियुक्ति गरेको छ।