काठमाडौं, फागुन ५ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ । विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थियो । ४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जेल प्रशासनले जनाएको छ ।
उनको मृत्युको जानकारी रुसी राष्ट्रपति पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ । नाभाल्नीलाई सन् २०२० को अगस्टमा नै विष हमलामा मार्ने तयारी गरीएको थियो । हवाईजहाज चढेर साइबेरियाबाट मस्को जाने क्रममा स्नायुमा असर गर्ने नोविचोक नामको विष झुक्याएर खुवाइएको थियो । उनी हवाईजहाज भित्र एक्कासी बिरामी परेपछि आपत्कालीन अवतरण गर्नुपरेको थियो । त्यसपछि लामो समय जर्मनीमा लगेर उपचार गराइएको थियो । जर्मनीबाट रुस फर्किए लगत्तै उनी पक्राउ परेका थिए ।
नडराई बोल्ने ब्लगर र भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट भन्दै आलोचना गर्थे । सन् २०१८ को राष्ट्रपति निर्वाचनमा पुटिनविरुद्ध लड्न खोजे पनि उनी उम्मेदवार बन्न पाएका थिएनन् । रुसमा राष्ट्रपति पुटिनका बिरोधीहरुलाई रहस्यमय तरिकाबाट मार्ने गरिएको पाईन्छ । यस घटना भन्दा पहिले पनि रुस युक्रेन युद्धका क्रममा रुसका प्राईभेट आर्मीका लिडर मानिने भ्याग्नर ग्रुपका लिडर येभ्ग्यानी प्रिगोजिनलाई लडाई छाडी मस्को कुच गरेको आरोपमा हवाई दुर्घटनामा पारी मारिएको आरोप समेत राष्ट्रपति पुटिनमाथि लाग्दै आएको छ ।