डाइमन्ड क्रूजमा थप ४० जना कोरोना संक्रमित भेटिए,जापानमा संक्रमित संख्या ४०६ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  856 पटक हेरिएको

जापान, फागुन ५ ।

जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजमा थप ४० जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको जापान संचार माध्यमले जनाएको छ। उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्।

तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिने बताएको छ। करिब ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको छ। उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो। जापानी अधिकारीहरूले बताए अनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको थियो । थप ४० जना अमेरिकी नागरिक र जापानको ओकिनावामा पनि १ महिला ट्याक्सी चालकमा कोरोना भाईरस देखिएसंगै जापानमा कुल ४०६ जनामा नयाँ कोरोना भाईरस संक्रमित देखिएको हो ।

एक अमेरिकी यात्रीले क्वारन्टीनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको संचारमाध्यमलाई बताएको छ । यस्तै सङ्क्रमित ४० जना अमेरिकी नागरिकको जापानमै उपचार गरिने संयुक्त राज्य अमेरिकाको न्याश्नल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए।

“यदि उडानमै रहेका बेला सङ्क्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिने छ”, उनले बताए। उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारन्टीनमा राखिनेछ।

अन्य देशले पनि चार्टर बिमान मार्फत आफ्ना देशका नागरिकलाई चार्टर उडानहरू मार्फत लगिने जनाएको छ । चार्टर उडानहरू मार्फत इजरेल, हङ्कङ र क्यानडाका नागरिकहरूको उद्धार गरिने छ।

चीनको वुहान क्षेत्रमा थप कडाई

यसैबीच, नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा चाहिँ निस्कन दिइनेछ। त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ।

हाउजिङ्गुहरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ। औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवा बाहेकका सबै कारोबार बन्द रहने छन्। अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ। हालसम्म चीनमा कोरोना भाईरसका कारण मर्नेको संख्या १६६५ पुगेको छ भने संक्रमितको संख्या ६८ हजार ५०० पुगेको चिनिया संचारमाध्यमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार