धादिङ, फागुन २ ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ धादिङ महोत्सव २०७६ आजबाट सुरु हुँदैछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसी खुल्लामंचमा धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने आयोजक समितिले जानकारी दिए । महोत्सवमा नीलकण्ठ नगरपालिका संरक्षक र नेपाल उद्योग वाणिज्य महासंघ, टेकु काठमाडौँको प्रवद्र्धकको रुपमा रहनेछन् ।
जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको खत्रीले बताए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल, रमाइलो मेला रहेका छन् ।
अटो मोबाइलको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बस्तुहरुको प्रदर्शनी तथा सूचना प्रविधि सम्बन्धी जानकारी र महोत्सवमा साहसिक खेल जीपलाइनको मज्जा पनि लिन सकिने बताइएको छ । महोत्सवमा १५५ वटा स्टल रहनेछन् भने विभिन्न १२ प्रकारका स्टलहरु रहने आयोजकले जानकारी दिए । महोत्सव आयोजनाका लागि १५१ जनाको महोत्सव मूल आयोजक समिति निर्माण गरिएको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।