काठमाण्डौ, फागुन १ ।
चीनको हुबेई प्रान्त स्थित वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाईरसबाट बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो ।
त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको चिनिया अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तमा कोरोनाको उपचार गर्नका लागि व्यापाक परिभाषाको सुरु गरिएको थियो, जो अधिकांश घटनाका लागि जिम्मेवार छन् । यद्यपि गएको बुधबारसम्म सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताइएको थियो ।
यस अघि गएको दुई हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकाेमा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका थिए ।
हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हाे । त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोनाविरुद्ध लड्न केही समयभित्रै खोप बनाउने योजना रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
जापानमा कोरोना भाईरस संक्रमितको संख्या २०३ पुग्यो
यस्तै चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरसको प्रभाव जापानमा तिव्र देखिएको छ । चीन पछी जापानमा नोबेल कोरोना भाईरस संक्रमितको संख्या २०३ पुगेको छ । पछिल्लो समय जापानस्थित योकोहामा स्टेटमा क्रूज़सिपमा कोरोना भाईरस संक्रमित थप ४० जना भेटिएको हो । डाईमन्ड प्रिन्स नामक पानी जहाजमा ३७११ जना यात्रु रहेको जनाएको छ । कोरोना संक्रमित मध्य ६ जनाको अवस्था चिन्ताजनक रहेको जापान स्वास्थ्य मन्त्रालयले जनाएको छ ।