काठमाडौं, माघ २९ ।

चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा आज भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए । राष्ट्रिय टिममा डेब्यू गरेका बमले भने ३३ रन बनाउँदै सुखद संकेत देखाए ।
नियमित ओपनर कुशल भुर्तेललाई लगातार दोस्रो खेलमा आराम दिँदा नेपालले शनिबार ओपनिङ जोडीमा परिवर्तन गर्दै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेखलाई ल्याएको थियो ।
पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि भने नेपालको रन गति कम भयो । ज्ञानेन्द्र १९ बलमा २२ रन बनाएर आउट भए । दोस्रो विकेटको रुपमा दशौँ ओभरमा आउट भएका आसिफले २९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे ।
शुक्रबार ओमानविरुद्धको खेलमा अविजित ७३ रन बनाएर नेपाललाई जिताएका दीपेन्द्रले शनिबारको खेलमा ३३ बल खेल्दै ५ चौका मद्दतमा ४१ रन बनाएका थिए ।



486 पटक हेरिएको 
















