चुनावमा उमेदवारले पाँचहजार भन्दा बढी चन्दा तथा चुनाब खर्च कारोबार बैंकमार्फत गर्नुपर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  456 पटक हेरिएको

काठमाडौं, माघ ३० ।  

निर्वाचन आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ । निर्वाचन खर्चसम्बन्धी आचारसंहितामा दलको विधान बमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ ।

त्यस्तै पाँचहजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ । चन्दाको रूपमा नगद लिएमा चन्दा दिने व्यक्ति वा संस्थालाई सो रकम बुझेको रसिद वा भर्पाइ दिनुपर्ने, खर्चको विवरण तथा बिल भर्पाइ अनिवार्यरूपमा राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, खर्चको विवरण सन्तोषजनक नदेखिएमा आयोगले उक्त खर्चको बिल भर्पाइ तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सम्बन्धित राजनीतिक दलले सक्कल बिल भर्पाइ तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने आचारसंहिताको मस्यौदामा उल्लेख छ ।

राजनीतिक दलसँग छलफल गरेपछि मस्यौदालाई अन्तिमरुप दिइने आयोगले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार