

काठमाडौं, माघ २८ ।

निगमले जापान सिभिल एभिएशन ब्युरो अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेसँगै नेपाल एअरलाईन्सको जापानको नारिता उडान तय भएको थियो । २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तय गरेको नेपाल एअरलाईन्सले ढिलै भए पनि काठमाण्डौँ — नारिताको सिधा उडान मिति तय गरेको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको हो । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमको जहाज बिहान १ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाण्डौँ देखि उडान गरिने र सोही दिन अपरान्ह् ६ः२५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ । हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौँबाट नारिताका लागि एकतर्फी रु. ३७ हजार र दुईतर्फी भाडा रु. ७३ हजार निर्धारण गरिएको छ ।

यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ किलोका दुई ब्यागेजको सुविधा पाउने छन् ।
नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहवद्र्धक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले उल्लेख गरेको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा रहेको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

