रोजिहिरा फाउण्डेशनको सहयोगमा खोटाङ केपिलासगढी गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  405 पटक हेरिएको

खोटाङ, माघ २७ ।

बेलायतका समाजसेवी दम्पत्ति रोजिनाप्रधान राई र हिराधन राईले सञ्चालन गरेको रोजीहिरा फाउन्डेसनले खोटाङ बास्पानीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले खोटाङ केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बास्पानीमा अवस्थित स्वास्थ्य चौकीका लागि सामग्री प्रदान गरेको हो ।

६ लाख रूपैयां बढी मुल्यका अक्सिजन कन्सनट्रेटर मेसिनसहित २७ प्रकारका उपकरण तथा औसधि हस्तान्तरण गरिएको छ । सिटामोल, जुकाको औसधि, भिटामिन र महिलाहरुका लागि चाहिने आवश्यक औसधि पाएर बासपानीका वासिन्दा प्रफुल्लित भएका छन् ।

बुधबार स्वास्थ्य चौकी बास्पानीमा आयोजित विशेष समारोहबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले ति सामग्री हस्तान्तरण गरेका थिए । मन्त्री कार्की झण्डै १२ घन्टाको कठिन यात्रा पार गरेर त्यहां पुगेका थिए । स्थानीयले मन्त्री कार्की र फाउण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई कार्यक्रमस्थलमा पुग्दा पुष्पगुच्छा र खादाले न्यानो स्वागत गरेका थिए ।

सोही ठाउंका समाजसेवी स्वर्गीय मनीप्रसाद राईका सुपुत्र हिराधन राई र बुहारी एवं रोजी हिरा फाउन्डेसनकी अध्यक्ष श्रीमति रोजिना प्रधान 
राईमार्फत चौकीलाई आवश्यक सामग्री जुटाएकामा स्थानीय बासिन्दाले कृतज्ञता व्यक्त गरेका छन् ।

कार्यक्रमका अध्यक्ष एवं केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बास्पानीका वडा अध्यक्ष खगेन्द्रबहादुर गुरुङले फाउण्डेशन र मन्त्री कार्कीप्रति आभार व्यक्त गर्दै फाउण्डेशनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा हातेमालो र सहकार्य गर्ने अपेक्षा गरेका छन् ।

फाउण्डेशनकी अध्यक्ष राईले एउटा पूण्यकामका लागि युवा नेता मन्त्री कार्कीको उपस्थितिले कार्यक्रमको गरिमात्र होइन्, थप हौसला प्रदान गरेको भन्दै आभार व्यक्त गरिन् । ‘हामी उहांप्रति ज्यादै अनुग्रहित छौं । जनतालाई यस्तै नेताको खांचो छ । यहांको अमूल्य समयका लागि धन्यवाद । आगामी दिनमा पनि हातेमालो र सहकार्यको अपेक्षा राख्दछौं’, उनले भनिन् ।

रोजिनाले ससुरा बाबाको कर्मले सिन्चित भूमिमा सेवा गर्न पाउँदा हर्सित भएको बताउंदै छिट्टै भिडियो एक्स रे मेसिन दिएर महिलाहरुलाई अकालमा मृत्यु हुनबाट बचाउने प्रयास गर्ने बताइन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि हलेसी तुवाचुङ नगरपालिका मेयर इभन राई, केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण राई, उपप्रमुख हिरा कुमारी बन गिरी, राष्ट्रिय माध्यमिक विद्यालय बास्पानीकी प्रधानाध्यापक शान्ता बस्नेत लगायत स्थानीय समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो ।

फाउण्डेशनको नेतृत्वमा यसअघि सोही गाउंमा इ-लाइब्रेरी निर्माण भएको थियो । स्वर्गीय मनिप्रसाद राईले बास्पानीकै श्री राष्ट्रिय माध्यमिक विद्यालयका लागि ६ रोपनी, ७ आना २ पैसा एक दाम जग्गा निशुल्क प्रदान गरेका थिए ।

फाउण्डेशनकी अध्यक्ष रोजिना एनआरएनए यूके पूर्व उपाध्यक्ष एवं व्यवसायिक समूह आइडिया फर वर्ल्ड र आइडिया फर नेपालकी निर्देशक पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार