कोरोना भाइरसको लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1057 पटक हेरिएको

काठमांडौ, माघ २५ ।

चीनको वुहान क्षेत्रबाट फैलिएको नोबेल कोरोना भाईरसले अहिले बिश्वलाई त्रसित बनाएको छ । यसको प्रकोप र संक्रमण दिन प्रति दिन बढिरहेको छ । नेपालमा पनि एक जनामा कोरोना भाईरसको प्रारम्भिक लक्ष्यण देखिएपछी त्यसको परीक्षणको लागि त्रिभुवन बिमानस्थलमा जाँच गर्ने थर्मल स्क्यानर राखिएको थियो । प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ । कोरोना संक्रमण नेपालमा पनि एक व्यक्तिमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको थियो । 

एउटा स्क्यानर प्रयोगमा ल्याएको १० दिनमै बिग्रिएको हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेले बताए । ‘थर्मल स्क्यानरले उच्च ज्वरोलगायत कोरोना भाइरसको सम्भावित लक्षण देखिने व्यक्तिलाई रातो घेरामा संकेत गरेर सम्भावित जोखिमबाट बचाउँछ । तर, हाम्रोमा एउटा थर्मल स्क्यानर बिग्रिएको पाँच दिन भइसक्यो, अहिले एउटाले मात्रै यात्रुको स्वास्थ्य जाँच गरेका छौँ,’ हेल्थ डेस्क इन्चार्ज पाण्डेले भने । 

दैनिक विदेशबाट सात हजारको संख्यामा यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिन्छन् । अधिकांश यात्रु कुनै पनि स्वास्थ्य जाँच नगरी विमानस्थलबाट छिर्ने गरेको हेल्थ डेस्कका एक चिकित्सकले बताए । ‘अधिकांश यात्रुको कुनै पनि स्वास्थ्य जाँच हुँदैन । एउटा स्क्यानरले यात्रुको चाप थेग्न सक्दैन,’ ती चिकित्सकले भने, ‘बिग्रिएको पाँच दिनसम्म पनि सरकारले अर्को व्यवस्था गरेको छैन ।’ 

०७० मा अफ्रिकी मुलुकमा इबोला फैलिएपछि सरकारले नेपालमा जोखिम न्यूनीकरणका लागि थर्मल स्क्यानर किनेर विमानस्थलमा राखेको थियो । दुई स्क्यानर एक करोडमा खरिद गरेको थियो । तिनै स्क्यानर अहिले प्रयोगमा ल्याइएको हो । 

चीनलाई एक लाख मास्क सहयोग गर्न प्रधानमन्त्रिको निर्देशन

 यस्तै चीनमा कोरोना भाईरसको संक्रमण तिव्र भईरहेको अवस्थामा मास्कको सर्टेज देखिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अभाव भएको चीनमा प्रधानमन्त्रिको निर्देशनमा नेपालले एक लाख थान मास्क उपलब्ध गराएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेका हुन् । सरकारले चीनलाई एक लाख थान मास्क सहयोग गर्ने निर्णय बिहीबार गरेको थियो । 

विश्वमा आपत्काल घोषित कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्दै नेपालले छिमेकी मुलुकलाई मास्क सहयोग गरेको हो । यसअघि नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले तिब्बतमा १२ हजार थान मास्क पठाएको थियो । नेपालको सहयोग ग्रहण गर्दै राजदूत यान्छीले भाइरसविरुद्धको लडाइँमा नेपालले चीनलाई देखाएको साथको प्रशंसा गरिन् । संकटको सबैले मिलेर सामना गर्नुपर्ने उनको भनाइ छ । कोरोना संक्रमणबाट चीनमा ६ सय ४० को मृत्यु भइसकेको छ । ३२ हजारभन्दा बढी संक्रमित छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार