

जापान, माघ २४ ।

चीनको वुहेन क्षेत्रबाट फैलिएको कोरोना भाईरस बिश्वका बिभिन्न देशहरूमा फैलिएको छ । कोरोना भाईरसको प्रकोप पछिल्लो समय जापानमा तिव्र रूपमा फैलिएको छ । हालसम्म ८६ जना बिदेशी र जापनिज नागरिकहरुमा कोरोना भाईरस भएको जापान स्थित स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यस अघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका ३ हजार ७ सय जनालाई गएकाे बुधबारदेखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको थियो । जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै जहाजमा रहेका ६१ जनामा कोरोनाकाे सङ्क्रमण भएको पुष्टि भईसकेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ ।
जहाजमा रहेका २८ जना जापानी, ११ जना अमेरिकी, अस्ट्रेलिया र क्यानाडाका सात–सात जना, चीन र हङकङका तीन–तीन जना, न्युजिल्याण्ड, ताइवान, फिलिपिन्स र अर्जेन्टिनाका एक–एक जनामा कोरोना भएको पाइएको हो ।

योसँगै जापान चीनपछि कोरोनाका बिरामी धेरै देखिने देश बनेको छ । जापानका ८६ जनामा कोरोना भएको पुष्टि भएको छ । वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा मात्रै ६ सय ३६ जनाको ज्यान गैसकेको छ भने ३१ हजार १ सय ६१ जनामा सङ्क्रमण भएको पाइएको छ । जापान सरकारले जापान भित्र बिभिन्न पेशा व्यवसाय, जागिर तथा अध्ययन गरी बसेका बिदेशी नागरिकहरू आफ्नो देश फर्की पुन: जापान प्रवेशमा कडाई गरेको छ । जापान अध्यागमन कार्यालयले कोरोना भाईरसको आशंकामा सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको छ ।
यस्तै चीन बाहिर २५ देशमा कोरोना सङ्क्रमित भेटिएकामा अहिलेसम्म फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गैसकेको छ ।

