काठमाडौं, माघ २३ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणको लागि सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यरातिबाट सवारी साधानमा जोर बिजोर प्राणली हटाउने निर्णय गरेको हो ।
फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्नु पर्नेछ ।
यस्तै विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
यस्तै सरकारी कार्यालय र व्यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ भने मास्क नलगाइ आएमा व्यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ । साथै मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन समेत प्रशासनले आग्रह गरेको छ ।