काठमाडौं, माघ २४ ।
चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादका क्रमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । यसअघि माघ १८ मा चीनले ३ लाख कोरोना खोप दिनेभनिएको थियो र काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो ।
विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन । अहिलेसम्म कुनै पनि चिनियाँ खोप आपतकालीन प्रयोगका लागि नेपालमा दर्ता भएको छैन ।
यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।