काठमाडौं, माघ २३ ।
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणसँग जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरु गरेको कदमको स्वागत गरेका छन् । विहीबार बिहान एक ट्वीट सन्देश जारी गर्दै डा. भट्टराईले सत्ताको आडमा कोही बच्न नहुने तर्क गर्दै परि आउँदा आफूमाथि पनि अनुसन्धान हुनुपर्ने संकेत गरेका छन् ।
‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य छ,’ उनले भनेका छन्, ‘तर प्रथम दृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ ।’
यो प्रकरणसँग जोडेर डा. भट्टराई र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम पनि आए पनि उनीहरुमाथि अख्तियारले कुनै कदम लिएन । यसबारे प्रतिक्रिया दिँदै डा। भट्टराईले भनेका छन्, ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर(असूर द्वन्दबाट निस्केको कालकुट बिष पिएर शिवजी नीलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु ।’
उनले नाम जोडिएका सबैमाथि अनुसन्धान गरेर भने पनि दोषीलाई कारबाही गर्ने र निर्दोष नफस्ने वातावरण बनाउन माग गरेका छन् । उनले अगाडि भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’