जापान र जिन्दगीले सिकाएका पाठहरू

जीबनका अनुभब र भोगाईहरु

  रामकृष्ण श्रेष्ठ प्रकाशित:  1991 पटक हेरिएको

फुकुओका, माघ २३ ।

जिन्दगीबाट शुरू गर्छु । हो, जिन्दगीले थुप्रै कुरा सिकाउदो रहेछ । लाज मान्दिन म, एउटा सामान्य गरिब परिवारको मान्छे हुँ । धेरैका वाल्यकाल सुन्दर हुन्छ भन्छन् तर शुरूदेखि नै जिन्दगीले परीक्षा लिदै आएको व्यक्ति भन्न रूचाउछु म आफैलाई । साथी हो, आज म मेरा व्यक्तिगत कहानी सुनाउन मात्रका लागि यहाँ उभिएको होइन र मलाई राम्ररी थाहा छ । हामी सबैका आ–आफ्नै कथा र व्यथा छन् र हुन्छ पनि । तर आज मलाई मेरो जीवन र जापानले सिकाएका केही घतलाग्दा कुराहरू राख्ने अवसर मिलेको छ ती जीबनका भाबहरु तपाईहरु माझ राख्ने अनुमति चाहान्छु । यसले यहाँहरूको भविष्य निर्माणमा थोरै भए पनि सहयोग गर्यो भने मेरो प्रयास सफल ठान्नेछु ।

सर्वप्रथम, मेरो घरबाटै शुरू गर्छु । मेरो सानो उमेरमा नै जागिरे बाबाको अकस्मात मृत्यु भएपछिको नाटकीय परिवर्तन मेरै जीवनको यथार्थ हो । अर्काको मेला, मजदुरी र अभाव जिन्दगीले नेपालदेखि नै सिकाएको कुरा हो । यस्तो कुरा रहर हुदैन । बाध्यतामा यसको असर बढी हुन्छ । वाल्यकालमा परेको यो असरले आज पनि मलाई राम्रोसँग निदाउन दिदैंन । आफ्नो त्यो दुरावस्था हरहालमा परिवर्तन गर्नुपर्छ भन्ने कुरा चाही मलाई राम्रोसँग थाहा थियो । सपना चाही देखिएकै हो, त्यो पनि आँखा खोलेरै ।

मेरा लागि घरपरिवारका आशलाग्दा आफन्त (दाजु-भाई) समेतले कुनै जोखिम लिन तयार नदेखेपछि मलाई मेरो जीवनले थप सिकायो । आफ्ना रहरहरू आफैले पुरा गर्नुपर्दो रहेछ । यसपछि मेरो जीवनले सिकाएको अर्को महत्वको कडि हो, समाजमा मान्छेले मान्छेलाई नजर लगाएर बसेको हुदोँरहेछ । तपाई इमान्दार र मेहनती हुनुहुन्छ भने सहयोगका हातहरू नसोचेको ठाँउबाट पनि मिल्दोरहेछ ।

आज यहाँहरू सामू आफ्नो अनुभव सुनाउँदा फेरि दोहोराउन मन लागेको कुरा यो छ कि, ती आफन्तहरू जसले कमै सहयोग गरे, उनीहरू आज मलाई दिनहुँ आफ्ना बिचार र सुझाब दिइरहन्छन र ती देवात्माहरू जसले मलाई खास समयमा सहयोग गरे, उनीहरू कै कहाँ हराएझै छन् । संसार गजबको छ । जसले लगानी गर्छ, उ चुपचाप छ, गुमनाम छ र जसले बेलामा बेवास्ता गर्यो, उसले हिस्सा खोज्छ । जिन्दगीले सिकाएका पाठहरू आसु, रहर र सपनाले गिजोलिदिएको छ । यसलाई केलाएर भन्ने या लेख्ने सामार्थ्य ममा छैन् । यसका लागि क्षमाप्राथी छु ।


आज ती सहयोगी मेरा मित्रहरूलाई भित्रदेखि संझेर आफ्ना अनुभव राख्न र लेख्न सकेँ । हो जिन्दगीले सिकाएको खास कुरा सहयोग मिल्छ मिल्छ तर त्यसलाई कसरी जोगाउने र सदुपयोग गर्ने त्यो हाम्रै हातमा हुँदोरहेछ । आफ्नो स्वभाव अनुसारका मान्छेहरू नजिक नजिक आउदै जाने र सम्बन्धहरू क्रमशः टाढिदै जाने रहेछ यो मेरो जीबनको अनुभव रहेको छ ।

समयको अभावले गर्दा, दु:ख, रोदन र कहाली लाग्दा हाम्रा कथाहरू लेख्न सकिदैन । भावुक भइन्छ । रोइने हो कि भन्ने आशंका पनि मनमा हुन्छ । कति त घतलाग्दा घटनाहरू सन्दर्भले मात्रै संझनामा आउछन् । यसर्थ, जिन्दगीले सिकाएका पाठमा मलाई भन्नु छ, नाफाकै त हो जिन्दगी । ती साथी, आफन्त, सहयोगी र समयले सहयोग र साथ नदिएको भए के हुन्थ्यो होला सोच्न पनि सकिदैन् । वास्तवमा राम्रो काम गर्नेलाई ढिलोचाडो राम्रै हुन्छ भन्ने मेरो जिन्दगीले सिकायको निस्कर्ष हो । सिकाईले मानिस परिपक्व हुन्छ भन्थे आज त्यही जीबनको भोगाईबाट परिपक्व भएको आभाष हुन्छ जिन्दगीमा ।

जापानको चर्चा धेरै भैसक्यो । यहाँहरू जापानमै हुनुहुन्छ । विद्वान सरमेडमहरूको अगाडी स्वर्गको बखान के गर्नु र ? धैर्यता अनिवार्य शर्त हो । हामी निकै हतारमा छौ । समय लाग्छ, जे जति जादु क्षमता राखेपनि समय पहिलो हो । ९ महिना भन्दा अगाडि जन्मिएको बच्चा अस्वभाविक हुन्छ । यहाँहरू स्वभाविक हुनुहोस । कृपया अनिवार्य धैर्यता राख्नुहोस र धैर्य गर्न सिक्नुहोस । म शुरूमा आएको ओइता भन्ने ठाउबाट २ वर्ष नहुदै फुकुओका आएको हो । त्यो समयमा टोकियो त के ओसाकासम्म पनि पुगेको थिएन । यात्रा लामो छ तर सहि तबरले गरिन्छ आत्मविश्वास छ । यहाँको नियम कानून नजानी सुखै छैन् । नजान्ने हो भने पैसा भएर पनि भेण्डिङ मसिनबाट पानी समेत निस्कदैन । ठेगाना र बाटो संझेर संभव छैन् । पैसा कमाउन होस वा खर्च गर्न यहाँ सिस्टम छ । त्यो सिस्टम जान्नै पर्ने बाध्यता हुन्छ । नसिकी सुखै हुन्न । जापानले आफै सिकाउछ ।

हो, भाषा यसको मुटु हो । हामीलाई समस्या परेको, रमाइलो लागेको र सिक्न मन लागेको कुरा स्पष्ट भन्न सकिएन र संवाद सुन्न सकिएन भने भिसा लाग्ने नलाग्ने, जापान कति बस्ने जस्ता अनिवार्य योजना बनाउन पनि हम्मे हम्मे पर्छ । मेरो जागिर व्यवसायकै क्रममा पनि मैले पटक पटक सुन्दै आएको कुरा छ । के गर्ने ? के पढ्ने ? Working Visa कसरी लिने ? भिषा कसरी परिवर्तन गर्ने ? यावत प्रश्नहरू छन् । यी सबै कुराहरूमा भाषा, संगत र सहि सूचनामै भविष्य लुकेको छ भन्दै भन्दै आएको धेरै भयो त्यही कुरा यहाँ आज पनि दोहोराइरहन जरूरी छैन् । कार्यक्रममा त्यसलाई देखाउने गरी प्रष्ट्रयाउन सकिन्थ्यो ।

जापानमा अध्ययन गरिरहेका भाइबहिनीहरू, यहाँहरू हामी सबैको भविस्य हो । कम्तिमा पनि यहाँका घरपरिवारले तपाईबाट ठूलो आशा राख्नुभएको छ । सफल व्यक्तिबाट थप मान्छेहरूले आशा राख्न शुरू गर्छन् । फकुओकाबाट होनहार कोहाईहरू आउन । आफ्नो निजि परिवार, समाज र सिङ्गो देश नेपालका लागि आशलाग्दा सफल व्यक्तिहरू बन्नुहोस । यही शुभकामनाका साथ अन्तमा आफ्नो अपेक्षा आफैले पुरा नगरी हुदैन । राजनीतिक पृष्ठभूमीलाई भूल्नुपर्छ । संगतगुनाको फल पाइने हो । समय लगाएर भए पनि सफल र अनुशासित सेम्पाई भेट्टाउनुहोस । भाषा Basic हो । हरहालमा भाषामा राम्रो दख्खल राख्नुहोस । पैसा त कमाइहालिन्छ । जापानको सिस्टममा भिज्नुहोस । यो सब भएपछि यहाँको मिशन पुरा हुदैं जान्छ । मेरो यो अनुभव यहाँको पनि साझा अनुभव हो । हाम्रा कथा पनि उस्तै-उस्तै हुन् । अन्तमा एउटा शब्द सहित विदा हुन चाहान्छु । हो जापानमा थाक्न पाइदैन । गाम्बात्ते कुदासाई !! धन्यवाद जदौ !!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार