टोकियो, माघ २२ ।
चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा लगायत अन्य देशहरूमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोना भाईरसको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखि उपचार गराईएको छ ।
राजधानी टोकियोको शिनोकुबोमा परिवारको साथमा बस्दै आएका काठमाडौंका एक २६ वर्षीय नेपाली युवालाई कोरोना संक्रमणको लक्षण देखिएपछि विशेष निगरानीमा राखेर स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।
प्राप्त जानकारी अनुसार उनलाई ४ दिनअघि रुघा, खोकी र श्वास प्रस्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परीक्षणको लागि अस्पताल पुर्याइएको थियो । उनलाई कोरोनाको आशंकामा हाल टोकियोको एक अस्पतालमा तीनदिनदेखि स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ ।
उनी केहिदिन अघि ओकुबो शिनओकुबो क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा खाना खान गएका थिए । खाना खाएर फर्केको अर्को दिनबाट उनको स्वास्थ्यमा समस्या आएको बुझिएको छ । यो क्षेत्रमा कोरियन, चिनियाँ तथा नेपाली नागरिकहरूको बाक्लो आवतजावत रहने गर्छ।
उनलाई सोही होटलमा खाना गएको बेला कोरोना सरेको आशंका गरिएको छ । यद्यपि अहिलेसम्म उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छैन । स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेको अवस्थामा उनलाई कोरोना नै संक्रमण भएको हो कि होइन भन्ने पुष्टि भने भएको छैन। यसै बिच जापान स्थित नेपाली दुताबासले जापानमा पनि कोरोना भाईरसको संक्रमण देखिएको सतर्कता अपनाउन प्रेस विज्ञप्ति मार्फत नेपालीहरुलाई सूचित गरीएको छ । आफुमा कोरोना भाईरसको शंका लागेमा तुरुन्त अस्पताल गई स्वास्थ्य परीक्षण गराउन समेत अनुरोध गरीएको छ । हालसम्म जापानको टोक्यो र साईतामा केनमा कोरोना भाईरस संक्रमित भेटीएको जापान स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुताबासद्वारा जारी गरीएको विज्ञप्ति