काठमाण्डौ, माघ २२ ।
नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गरिरहेकाे छ ।१७ ओभरकाे खेल सकिँदासम्म ओमानले तीन विकेट गुमाउँदै ४७ रन मात्र बनाएकाे छ । ओमानका लागि जेशान मकसुद र माेहम्मद नदीम क्रमशः १२ र पाँच रन बनाउँदै खेलिरहेका छन् । ओमानका जतिन्दर सिंह र खवार अली एकाेहाेराे अङ्कमै पेभेलियन फर्कँदा अकिब ल्लियास १६ रनमा रनआउट बन्न पुगे ।
बलिङतर्फ नेपालका लागि करण केसीले महत्पूर्ण दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका करणले एक मेडन राख्दै १५ रन दिएका छन् ।यो खेलबाट तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् । नेपाल र ओमानबीचको खेल केही बेरमा त्रिवि मैदानमा हुँदैछ ।
एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाले खेल्न लागेका हुन् । आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ । नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो ।
आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा रहेर अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।यस्ताे छ नेपालकाे प्लेइङ ११– ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकीपर), करण केसी, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने रहेका छन।