चीनबाट ल्याइने नेपालीलाई किर्तीपुर, भक्तपुर र ललितपुरको जावलाखेलमा राख्ने तयारी

कोरोना भाईरस

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2308 पटक हेरिएको

काठमाण्डौ, माघ १९ ।

सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने गरी छलफल भैरहेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई १५ दिन अलग्गै ठाउँमा राखेर भाइरसको संक्रमण नरहेको प्रमाणित भएपछि परिवारको जिम्मा लगाउने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरीसकेको छ। त्यसका लागि आवश्यक तयारी पनि भइरहेको बताएको छ। अधिकारीहरूका अनुसार वुहान जहाज पठाउन अझै एक-दुई दिन लाग्न सक्छ।

‘अहिले उताबाट डाटाहरू संकलन भइरहेको छ। कति जना आउने टुंगो भएपछि हामी त्यहीअनुसार चार्टर्ड उडानको व्यवस्था गर्छौं,’ नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्,‘त्यसपछिमात्र जहाज कुन विमानस्थलमा जाने, क्रु मेम्बर को-को जाने टुंगो लाग्छ।’

वुहानबाट फिर्ता ल्याइएका नागरिकलाई कम्तिमा १४ दिनसम्म अरूको सम्पर्कसँग दिइँदैन। वुहानबाट नागरिक फिर्ता ल्याएका देशले उनीहरूलाई राख्न छुट्टै क्याम्प बनाएका छन्।

अहिलेसम्म चीनमा रहेका नेपालीलाई कोरोनाभाइरस देखिएको छैन । नेपाल ल्याउँदा उनीहरूमा संक्रमण देखिए राख्नका लागि टेकुलगायतका अस्पतालमा  आइसोलेटेड बेडहरू बनाइएको छ। ‘बिरामी नभएको मान्छेलाई अस्पताल लिएर राख्ने कुरा हुँदैन। उहाँहरूलाई अब्जर्भेसनमा राख्ने हो,’ श्रेष्ठले भने।

नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो। ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए।

फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ। भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ। गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले संसारका विभिन्न देशमा फैलिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार