एजेन्सी, माघ १९ ।
म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)की सर्वोच्च नेता आङ सान सू कीलाई हिरासतमा लिएको छ ।म्यानमारमा सरकार र सेनाबीच केहिसमय अघिदेखि तनाव रहेको थियो ।म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो भने सूकीको पक्राउलाई सैन्य कू को रुपमा हेरिएको छ ।
यसै अवस्थामा तनावकाबीच सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको सु कीको पार्टीले एक वक्तव्य जारी गरी जानकारी दिएको छ ।एनएलडीका प्रवक्ता म्यो न्यूनले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सु कीसहित राष्ट्रपति र अन्य नेताहरुलाई सेनाले हिरासतमा लिएको छ ।
न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै “लगिएको” बताएका छन्। “म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,” उनले भने। उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए।
गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएपनि सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । निर्वाचित सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबार बोलाइएकै बेला सूकीलाई पक्राउ गरिएको हो ।
सेनाले आज (सोमबार)का लागि निर्धारित संसद् बैठक स्थगित गर्न सरकारलाई आह्वान गरेको छ । राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको बीबीसीले जनाएको छ ।
त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।