कोरोना भाइरस रोकथामका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1008 पटक हेरिएको

काठमाण्डौ, माघ १८ ।

चीनको वुहान प्रान्तबाछ फैलिएको कोरोना भाईरसबाट हालसम्म २१३ जनाको ज्यान गईसकेको छ । कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्।

चीनबाहेकका १७ देशमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ। चीनबाहिरका देशमा ८२ जनामा यो भाइरसक भेटिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार तीन जनामा यो भाइरस मानिसबाट मानिसमा सरेको पाइएको छ। यी मध्ये एक जनाको अवस्था गम्भिर छ।

कोरोना भाइरसको स‌ङ्क्रमण रोकथामका लागि सरकारले उच्चस्तरीय समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उच्चस्तरीय समितिसहित तीनवटा समिति गठन गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति गठन भएको छ । स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

चीनको वुहान शहरमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि आउनसक्ने भएकाले उच्च सतर्कतासहित काम गर्न समिति गठन गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सरसकारले कोरोना भाइरस रोकथामका लागि थप अरु काम गर्दै जानेछ ।

यस्तै उहाँले नेपालमा अहिले आत्तिइहाल्नु पर्ने अवस्था नआएको पनि बताउनुभयो । यस्तै, कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली शुक्रबार केरुङ र तातोपानी नाकामा पुगेको छ । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली त्यसतर्फ गएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार