राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकीकरणमा सहमति, थापा, राणा र लोहनी अध्यक्ष

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1700 पटक हेरिएको

काठमाण्डौँ, माघ १७ ।

पार्टी फुटको अढाई वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई समूहबीच एकीकरण हुने भएको छ । राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच बिहीबार अपरान्ह भएको बैठकमा पार्टी एकीकरण गर्ने सहमति भएको हो ।

पार्टी एकीकरण हुने निश्चित भएसँगै राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार केन्द्रीय समिति बैठकमा प्रतिबेदन पेश गरेलगत्तै स्थगित गरेका छन् । एकीकरणका बिषयमा छिट्टै औपचारिक घोषणा हुने जानकारी पार्टी नेताहरुले दिएका छन् ।

२०७३ फागुन ६ मा राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचन भन्दा अघि २२ भदौ २०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपा समूहमा स्थापनादेखि नै टुट फुटको श्रृंखला चल्दै आएको छ । राप्रपा समूहका एक शीर्ष नेताका अनुसार शुक्रबार बैठक चलिरहेका बेला संयुक्तका अध्यक्ष राणाले थापालाई टेलिफोन गरी बैठक स्थगित गर्न आग्रह गरेपछि थापाले स्थगित गरेका हुन् ।

थापाले पार्टी एकता नभए राप्रपा महाधिवेशनमा जाने र पार्टी एकताको च्याप्टर तत्कालका लागि बन्द हुने अडान राखेका थिए । राप्रपा संयुक्तले पनि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट पार्टी एकताको बिषय टुंग्याउने तयारी गरिरहेको राणा निकट एक नेताले जानकारी दिए ।

बिहीबार दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म महाराजगञ्जको एक होटलमा भएको वार्तामा थापा, राणा र लोहनी बीच एकीकरणको मोडालिटीमा सहमति भएको थियो । जस अनुसार पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुनेछन् । केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र संयुक्तबाट ४५ प्रतिशत रहनेछन् । पार्टीको पछिल्लो महाधिवेशनको विधानमा केन्द्रीय समिति एक सय ६३ जना रहने व्यवस्था छ ।

पार्टीको चुनाब चिन्ह आगामी महाधिवेशनबाट टुंगो लगाउन तीनै नेता सहमत भएका छन् । अहिले राप्रपाको चुनाब चिन्ह गाई र राप्रपा संयुक्तको हलो छ । पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागू गर्न तीनै नेता सहमत भएका छन् ।

नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार