अमेरिका–मेक्सिको सीमामा १३ सय मिटर लामो सुरुङ फेला, मानव ओसारपसारमा प्रयोग

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1421 पटक हेरिएको

अमेरिका, माघ १७ ।

अमेरिकी अधिकारीहरूले मेक्सिकोसँगको सीमामा एउटा लामो सुरुङ पत्ता लगाएको बताएका छन् । फेला परेको सुरुङ लागुपदार्थ तस्कर र मानव ओसारपसारमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको अनुमान रहेको बताइएको छ । ४ हजार ३ सय ९ फिट फिट ९१३१३ मिटर० क्षेत्रमा फैलिएको सो सुरुङमा लिफ्ट, रेलमार्ग, नाला, भेन्टिलेसन प्रणाली र उच्च भोल्टेजको विद्युतीय केबललगायतका अत्याधुनिक सुविधा जडान गरिएको पाइएको छ ।

सुरुङले मेक्सिकोको तिजुआना सहरदेखि क्यालिफोर्नियाको डिएगो क्षेत्रलाई जोडेको छ । सुरुङबाट कोही पक्राउ परेका छैनन् न त कुनै लागुऔषध नै भेटिएको छ । सुरुङ निर्माणमा संलग्न संदिग्धबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

सुरुङ निर्माणमा मेक्सिकोस्थित सिनालोआ संगठनको संलग्नता रहेको अनुमान गरिएको छ । अमेरिकाले सिनालोआलाई विश्वकै सबैभन्दा ठूलो लागुऔषध संगठन बताउने गरेको छ । संगठनका संस्थापक जोआक्विन इल चापो गुजम्यान अमेरिकामा जन्मकैदको सजाय खेपिरहेका छन् ।

मेक्सिकाका अधिकारीले सुरुङको प्रवेशद्वार पहिचान गरेका छन् र अमेरिकी अधिकारीले यसको नक्सांकन गरेका छन् । अमेरिकी भन्सार तथा सीमा संरक्षण कार्यालयका अनुसार औसत गहिराइ ७० फिट रहेको सुरुङ साढे ५ फिट अग्लो र २ फिट फराकिलो छ । सुरुङ बनाउन कति समय लागेको थियो भन्ने केही उल्लेख गरिएको छैन ।

‘सुरुङको लम्बाइ र यसको आधुनिक डिजाइनलाई हेर्दा सीमा क्षेत्रमा तस्करी गर्न निकै मिहिनेत गरेर बनाएको पुष्टि हुन्छ,’ सान डियागोका गृह मामिला सुरक्षासम्बन्धी कार्यालयका कार्यवाहक एजेन्ट कार्डेल मोरान्टले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार