मालपोतमा कार्यरत पियनको सम्पति ९ करोड ७३ लाख भन्दा बढी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  683 पटक हेरिएको

काठमाडौं, माघ १६ ।

अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।१९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।

बस्नेतको तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै वैध भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निश्कर्ष छ ।

मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरेर राजस्व दाखिला नगरेको अभियोगमा बस्नेत पक्राउ परेका थिए । ११ लाख रुपैयाँ नगदसहित पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अवैध सम्पत्ति फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार