

काठमाडौं, माघ १६ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।
राजनीतिक प्रतिवेदनमा नेकपाको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । २०७७ मंसिरभित्र सबै स्थानीय तह र प्रदेश तहका अधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ । नेकपाले आगामी फागुन १ गतेदेखि पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरेको छ ।

पार्टी एकताको तात्कालिन र दीर्घकालीन महत्त्व स्थापित गर्न सुरु गर्न लागिएको अभियानको कार्यतालिका पनि प्रस्तावित गरिएको छ । प्रस्तावित कार्यतालिकामा २०७६ फागुन १ देखि १५ सम्म प्रदेश, जिल्ला स्थानीय कमिटीको बैठक राख्ने प्रस्ताव गरिएको छ ।
फागुन मसान्तसम्म पार्टी जनबर्गीय संगठनको केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । चैत र वैशाखमा सदस्यता नवीकरण, जेठ मसान्तभित्र घरदैलो, पदयात्रा, टोल भेला, कोणसभा आयोजना गर्ने योजना नेकपाका छ । विशेष पार्टी कमिटी, सम्पर्क मञ्च र जनवर्गीय संगठनहरूलाई पनि अभियान विशेष योजना बनाउन, अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

२०७७ साउन महिनाको पहिलो हप्तासम्म पालिका तहका कमिटीले अभियानको समीक्षा गर्ने र प्रतिवेदन जिल्ला कमिटीमा पठाउने योजना पनि प्रतिवेदनमा समेटिएको छ । साउनको दोस्रो हप्ता जिल्ला कमिटीले प्रदेशमा प्रतिवेदन पठाउने र साउनको तेस्रो हप्तासम्म प्रदेशले केन्द्रलाई प्रतिवेदन पठाउने गरी योजना तर्जुमा गरिएको छ ।

